सुरक्षा माग्दै चिकित्साकर्मीहरू पुनः सडकमा

काठमाडौं । डाक्टरमाथि भइरहेको आक्रमणविरुद्ध स्वास्थ्यकर्मीहरूले आन्दोलन थालेका छन् । उनीहरुले मंगलबार सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा हिजो सोमबार डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि भदौ २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले भदौ ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रेका हुन् ।

यसैबीच त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्। हिजो मात्रै चितवन र पोखरामा थप घटना भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पतालअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आनन्द सिंहले जानकारी दिए।

त्यसअघि शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको थियो। राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले र्‍यालीका लागि आह्वान गरेका थिए।

मणिपालमा एक साताका लागि सेवा बन्द

पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्। सोमबार साँझ आवासीय तथा इन्टर्न चिकित्सहरुले एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउनको कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइएको छ।

उनीहरुले उक्त कुराको सुनिश्चितता नभएसम्मका लागि अस्पतालमा प्रदान गरिँदै आएको ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द गरिएको जानकारी दिएका छन्। अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए ।

मणिपालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ

यसैगरी मणिपालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।

उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए। प्रहरीले चिकित्सकको तर्फबाट नाराबाजीमा संलग्न फिस्टेल अस्पतालका डा. दिनेशकुमार बिकलाई समेत नियन्त्रणमा लिएको थियो तर उनलाई भने प्रहरीले छाडिसकेको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर