भारत–पाकिस्तान खेल राजनीति, पाकिस्तान मर्कामा

काठमाडौं ।  भारतले भिसामा ढिलाइ गर्दा विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोली समस्यामा परेको छ । पाकिस्तानी टोली भारत प्रस्थान गर्न अब दुई दिनभन्दा पनि कम समय रहेको छ । तर भारतले अहिलेसम्म भिसा नदिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि जनाएकाे छ ।

पाकिस्तानले विश्वकपको तयारीमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ । टोली बुधबार बिहानै पाकिस्तानबाट उड्ने तालिका भए पनि सोमबार काम गर्ने समय बन्द हुँदा टोलीलाई भिसा जारी गरिएकाे छैन । पाकिस्तान बोर्डले यस विषयमा आईसीसीसँग सम्पर्कमा रहेको र गुनासोसहितको पत्र लेखेको जनाएको छ । पत्रमा भनिएको छ, ‘पाकिस्तान यस्तो असमान व्यवहार भएको एकमात्र टोली हो । भारतको यस्तो व्यवहार सह्य हाेइन ।’

इमेलमा पीसीबीले आईसीसीलाई विश्वव्यापी निकायले यो समस्या समाधान गर्न के कदम चाल्न चाहन्छ भनेर सोधेको छ । पीसीबीले टोलीलाई यात्राका लागि समयमा भिसा उपलब्ध गराउन नसक्दा विश्वकप आयोजना गर्ने सम्झौताको उल्लङ्घन हो कि होइन भन्ने प्रश्न पनि उठाएको छ ।

गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो । पाकिस्तानले बुधवार बिहान दुबईका लागि उडान भर्ने छ, त्यहाँ ट्रान्जिटपछि बुधवार बेलुकी हैदराबादका लागि यात्रा गर्ने तालिका छ । पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल शुक्रबार हैदराबादमा न्युजिल्यान्डसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर