सुर्खेतमा बलात्कारको आरोपमा चार जना पक्राउ

काठमाडौं । सुर्खेतमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् । एक जना १९ वर्षीय पुरुष छन् ।

पक्राउ पर्ने सबै जना पञ्चपुरी नगरपालिकाका रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार सोही ठाउँकी १३ वर्षीया बालिका रहेको जनाइएको छ । बालिका बिहीबार साँझ घर नजिकैको अर्को घरमा गरिएको नाचगान कार्यक्रम हेर्नका लागि गएको स्थानीयले जनाएका छन् ।

त्यसमौकामा चार जनाले फरक–फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरू एउटै गाउँमा रहेका छन् । चारै जनाले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ भने पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । यस्तै, १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका –३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते विहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर कांक्रेविहारको जंगलमा लगी बलात्कार गरेको बताए । ‘मार्ने धम्की दिएर बलात्कार गरेको देखिन्छ’ उनले भने, ‘हामीकहाँ बालिका आउँदा शरीरका धेरै ठाउँमा चोटपटक लागेको थियो ।’ बालिकाको खुट्टा मर्किएको थियो । अन्ततः कंडेल शुक्रबार बेलुका पक्राउ परेपछि एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुलेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर