माओवादी र नेसपाबीच छिट्टै पार्टी एकता हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किएपछि नेपाल समाजवादी पार्टीसँगको एकता टुङ्गो लाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई भारत र महेन्द्र राय यादव चीन भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि एकताको छिनोफानो लाग्ने भएको छ ।

नेसपाका सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका दुवै अध्यक्ष विदेशमा भएकाले स्वदेश फर्किएलगत्तै एकताको टुङ्गो लाग्ने बताए । उनले भने, “माओवादीसँग एकता गर्ने नै भन्ने छ । अहिले तीनै जना विदेश भ्रमणमा हुनुहुन्छ । उहाँहरू स्वदेश फर्किएलगत्तै पार्टी एकताको छिनोफानो हुने छ ।”

उनले माओवादीसँग एकता गर्न धेरै विषय मिलिसकेकाले केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको बताए । पार्टी एकताका विषयमा डा. भट्टराई सकारात्मक नरहनुभएकाले श्रेष्ठ र यादवलाई चुनौती भएको छ । डा. भट्टराईले एकता स्वीकारेनन् भने के गर्ने भन्नेमा दुवै नेता निर्णयमा पुगिसकेको छैन ।

यस्तै माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले नेसपासँग पार्टी एकता गर्ने विषयमा सघन छलफल भइरहेको स्वीकार गरे । उनले माओवादी र नेसपाबीच सबै विषय मिल्दै गएकाले छिट्टै एकता हुन सक्ने प्रस्ट पारे । नेसपासँगै एकता गर्न माओवादी केन्द्रले पार्टीकै नाम फेर्न तयार भएको छ । गत भदौ ३० गते अध्यक्ष यादवलाई माओवादीले पार्टीको नाम फेर्न तयार रहेको पत्र पठाएको थियो । पार्टीको नाम फेरे पनि नेकपा उल्लेख गरिने नेताहरूले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर