क्यानाडेली शिखको हत्यामा भारतीय गुप्तचर संस्था संलग्न ?

काठमाडौं । भारतीय मूलका क्यानाडेली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानाडाका एक जना अधिकारीले बताएका छन् । भारतको बाह्य खुफिया संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एसोसिएटेड प्रेसलाई बताएका छन् ।

क्यानाडामा रहेका भारतीय कूटनीतिज्ञ र खुफिया एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न साझेदार खुफिया समूह ‘फाइभ आइज्’ले उपलव्ध गराएको नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारेमा भने केही उल्लेख गरेनन् ।

हत्यामा भारतीय कूटनीतिज्ञ एवम् जासुसको संलग्नता रहेको समाचार सबैभन्दा पहिले क्यानडाको प्रसारण संस्था क्यानडा ब्रोडकास्टिङ कर्पोरेशनले सार्वजनिक गरेको थियो ।

भारतले क्यानाडाका नागरिकलाई भिसा नदिने निर्णय गरेपछि हत्यामा भारतको हात रहेको गुप्तचर निकायबाट प्राप्त विवरण बाहिर आएको हो । भारतले नयाँदिल्लीमा रहेका क्यानाडेली कूटनीतिक कर्मचारीको सङ्ख्या घटाउन भनेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानाडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानाडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । पेशाले प्लम्बर उनलाई क्यानाडाले सन् २००७ मा नागरिकता दिएको थियो ।

क्यानाडाको संसदमा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएको बताएको थियो । क्यानाडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई बिहीबार सम्बोधन गर्दै क्यानाडाका प्रधानमन्त्रीले ओटावा र नयाँदिल्लीबीच कूटनीतिक सम्बन्ध जटिल मोडमा पुगेको स्वीकार गरे । उनले भारतसँग सम्बन्ध बिगार्न आफूले नचाहेको तर विधिको शासनको पालना तथा आफ्ना नागरिकको रक्षा आफ्नो पहिलो कर्तव्य भएको बताए । यसअघि क्यानाडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानाडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गरिएकोे जानकारी दिँदै निजलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको थियो । भारतले क्यानाडाका नागरिकलाई भिसा नदिएपछि उसको पर्यटन क्षेत्रमा असर पर्ने दुवै देशका पर्यटन व्यवसायीले बताएका छन् । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष दुई लाख ७७ हजार क्यानाडाका पर्यटकले भारत भ्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर