ग्यास उद्योगलाई आयल निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएको भन्दै निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको हो ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । विनियमावलीको विनियम २९ मा निर्धारित तौलअनुसार ग्यास बिक्री नगरेमा तथा निगमको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था आउने उल्लेख छ ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो । निगमले १४ दशमलव २ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निगमले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर