मलंगवामा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गए राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
हिजो राति (असोज ४ गते, बिहीबार) मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद भई सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुंगामुढा प्रहार लगायत उच्छृङ्खल गतिविधि भएको थियो। त्यसपछि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम तथा शान्ति भङ्ग हुनसक्ने साविक मलंगवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो।
पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कर्फ्यु आदेशपछि अहिले मलंगवाको स्थिति सामान्य रहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
यसअघि पनि कृष्ण जन्माष्टमीका वेला मूर्ति सेलाएर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएको थियो। सो घटनाका कारण हुन सक्ने तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ गते कर्फ्यु आदेश जारी गरेको थियो।