श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् । श्रीमती निकिता चौधरीको गत शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगतमाथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जीउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर