आज विश्व अल्जाइमर्स दिवस 

काठमाडौं । आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ ।

अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । अल्जाइमर्स हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई यस विषयमा जानकारी नहुनु नै रहेको ज्येष्ठ नागरिकका डाक्टर रमेश कँडेलले बताए । उनका अनुसार मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यसरी मस्तिष्कका कोषहरू नष्ट हुँदै गएपछि व्यक्तिले केहीबेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।

यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर्स हुन्छ । डाक्टर कँडेलका अनुसार ९५ प्रतिशतभन्दा धेरै अल्जाइमर्सका बिरामी ज्येष्ठ नागरिक छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । अल्जाइमर्स के कारणले लाग्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति तथा वयस्कमा मधुमेह, उच्च रक्तचाप, मोटोपना भएका र निष्क्रिय जीवनशैली भएकाहरुलाई अल्जाइमर्स हुने जोखिम धेरै हुने डाक्टर रमेश कँडेलले बताए ।

डाक्टरका अनुसार अल्जाइमर्स दीर्घरोग हो । यो पूर्ण रुपमा निको हुँदैन । तर, शुरुवाती चरणमा नै यो रोगको पहिचान गरी उपचार गराएमा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । बेलैमा उपचार नभए मानसिक समस्यासँगै हिँडडुल गर्न नसक्ने जस्ता जटिल अवस्थामा बिरामी पुग्ने डाक्टर कँडेलले बताए।
बिरामी सामान्य अवस्थामा हुँदा नै परिवारका सदस्यहरूले उपचारमा नलैजाँदा पछि ज्येष्ठ नागरिकको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको डाक्टरले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर