सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज मंगलबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागबजार घर भर्इ सीतापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भर्इ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । साथै अन्य दुई जना भारतीय पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरुले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकी अप्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए । अनुसन्धानका क्रममा काठमाडौैं महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सुरज गुरुङ समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरुसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर