आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज ऋषि पञ्चमी पर्वको अवसरमा नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौंको टेकुसहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भीड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर