किम रुसको भ्रमण सकेर स्वदेश प्रस्थान

काठमाडौं । रुसको भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किएको छ । उनी आफ्नो बख्तरबन्द रेल चढेर हिजो बेलुका रुसबाट प्रस्थान गरेको रुसी समाचार एजेन्सीले जनाएका छन्।

रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो सार्वजनिक गरेको छ । तास समाचार एजेन्सीले पनि किम सवार रेलको प्रस्थान गरेको देखाएको छ । किमले अस्ति शनिबार भ्लादिभोस्तोकमा रुसी रक्षामन्त्रीलाई भेटेका थिए । साथै त्यहाँ उनले हाइपरसोनिक मिसाइललगायत अत्याधुनिक हतियारको निरीक्षण गरेका थिए ।

गत मङ्गलबार रुस आएका मिमको भ्रमण मुख्यगरी सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदानले यसलाई थप प्रमाणित गर्ने आधार तय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । मुख्यगरी मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको र प्योङयाङले आफ्नो क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रुसको सहयोग चाहेको विश्लेषण छ ।

उत्तर कोरियाली समाचार संस्था केसिएनएले अधिकारीहरूलाई उद्धृत गर्दै किमको भ्रमण ‘उत्कृष्ट र न्यानो’ भन्दै उत्तर कोरिया र रुसबीच ‘मित्रता, ऐक्यबद्धता र सहयोगको नयाँ युग’ सुरु हुन लागेको जनाएको छ । किम कोरोना महामारीपछिको पहिलो विदेश भ्रमणका क्रममा रुस पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर