२९ जनालाई प्रतिवादी बनाउँदै सुन तस्करी मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ६१ केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले प्रतिवादीसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । ब्रेकप्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । यो प्रकरणमा पक्राउ परेका मध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ ।

अभियोगपत्रमा प्रतिववादी बनाइएकामा कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल (कर्मचारी), पुष्करराज भट्ट, सन्तोष चन्द, (कर्मचारी) सरोज श्रेष्ठ (कर्मचारी), गणेशप्रसाद पौडेल (कर्मचारी), यादव पराजुली, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, सुदर्शन गौतम, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली (कर्मचारी), सुमन खरेल, शिवकुमार सर्राफ, विदेशी नागरिक तिब्बती मूलका भारतीय छिरिङ थुप्तिन, चिनियाँ नागरिक अली भनिने ली वेन सुङ, लिन जिक्वाङ, योङ वेन, मी तियान, स्टेप्स भन्ने ली नेङकाई, सरतेन भन्ने दिङ सेङफा, चिनियाँ मूलका बेल्जियन नागरिकद्वय एलेक्स भन्ने याओ फुचेङ र दावा छिरिङ छन् । उनीहरू अनुसन्धानका रूपमा पक्राउ परेका थिए ।

हाल फरार रहेका भोला साह (सोनार), जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीले आरोपितमाथि बरामद भएबाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको थियो । आरोपपत्रअनुसार उनीहरूले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सिआइबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ । एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजायसमेत जोडिन्छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एअरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो सुन तस्करीको विषयमा सिआइबीले अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको थियो ।

गोदामहरूमा छापा मार्दा अरू पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सिआइबीले ब्रेकसुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसुर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसुरमा कारबाही गर्न राय दिइएको थियो ।

ब्रेक प्याड (सु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सिआइबीको निष्कर्ष छ । तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहले गरेको सिआइबीको निष्कर्ष थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर