लिबियाको डेर्नामा यो कस्तो विनाश ? यत्र तत्र लाशै लाश
काठमाडौं । यही सेप्टेम्बर १० तारिखमा आएको डेनियल आँधीले उत्तर अफ्रिकी मुलुक लिबियाको शहरका दुईवटा बाँध फुटेपछि बेनगाजी, बायडा र डेर्ना शहरमा समुद्र पस्यो। भ्रष्टाचार, युद्ध र राजनीतिक अस्थिरताले थिलथिलो बनाएको लिबियाको पूर्वी सहर डेर्ना सबैभन्दा ठूलो चपेटामा पर्यो। करिब एक लाख जनसंख्या भएको मेडिटेरियन समुद्रको तटीय क्षेत्र डेर्नामा समुद्र पस्दा ११ हजार ३०० भन्दा बढीलाई बगाएको छ भने १० हजार ३०० भन्दा बढी अझै बेपत्ता छन्।
डेर्नामा ११ प्रतिशत जनसंख्याको मृत्यु भएको छ भने १० प्रतिशत जनसंख्या अझै बेपत्ता अवस्थामा छ। बस्तीमा समुद्र पसेको एक साता भइसक्दा पनि स्क्याभेटर लगाएर शव उठाउने काम चलिरहेको छ। आफन्त गुमाएको पीडा एकातिर छ भने आफू कसरी बाँच्ने भन्ने चिन्ता अर्कोतर्फ छ। न त खानेकुराको जोहो छ, न शुद्ध पिउने पानी नै छ। बिजुली कहिले बन्ने हो कसैले भन्न सकेका छैनन्।
जब पानी बस्तीतिर पस्यो, गाडी र घरहरु ढल्दै थिए। भूकम्प आएजस्तो महसुस भएको स्थानीय तरिक फहिमले सीएनएनसँग बताएका छन्। उनले भने, पानीको मात्रा बढेसँगै घरहरु भत्किएको र गाडीहरु बगाएर ल्याएको आवाजले सहर भूकम्प आएजसरी नै आवाज आइरहेको थियो।
घरको तल्लो तलामा पानी भरिन थालेसँगै मानिसहरु छतमा गए र पानी त्यहाँ पनि भरिन थालेपछि छतको माथि राखिएको पानीको ट्यांकीमा चढेर ज्यान जोगाए। ुघरको तल्लो तलामा बसेका मानिसहरु शायदै बाँचे होलान्,ु उनी भन्छन्। पानीको सतह विस्तारै घट्दै गएपछि तल झरे। पानीको सतह घटेपछि तल झरेर हेर्दा सडकमा दुई मिटर अग्लो माटो र बालुवा जम्मा भएको देखियो। मेरो घर वरपरमात्रै ३३ जनाको मृत्यु भयो। कैयौं छिमेकीहरु माटोमुनी गाडिएको र बगेको हुन सक्छ।
साद रजब मोहम्मद अल हसीले बीबीसीसँग कुरा गर्दै भने, “मेरो श्रीमती खाना बनाइरहेकी थिइन्। हामी खाना खान कुरिरहेका थियौं। त्यही समयमा घरभित्रै बाढी पस्यो। बाढीले धातु, काठको फ्लेक र सिमेन्टको ब्लक बगाएर घरभित्रै पुर्यायो, मैले हे भगवानु भन्नबाहेक केही बोल्नै सकिनँ। हामी भागेर बाँच्यौं तर, घर भने बाँकी रहेन।” उनी अहिले आश्रयविहीन भएका छन्।
डेर्नामा भएको क्षतिको पीडा त्यहाँका स्थानीयमा स्पष्टै देखिन्छ। आधा माटोले पुरिएको घर बाहिर बसेर बाँचेकाहरु रोइरहेको दृश्य निकै दर्दनाक छ। उद्धार टोली रात परे पनि माटोले पुरिएका शवहरु निकाल्न व्यस्त छ। उद्धार टोलीले कालो झोलामा शव उठाएर एम्बुलेन्सतर्फ लगिरहेको, छेउमा टुक्राटुक्रा भएका कारहरू, उखेलिएका रूखहरू र भत्किएका भवनहरू देखिन्छ। यो क्रम डेर्नामा निरन्तर चलिरहेको छ, एक सातादेखि। खेतहरुमा रातो पानी भरिएको छ।
धुलोबाट जोगाउन र शवको गन्धबाट थोरै भए पनि जोगाउँछ कि भनेर सहायता समूहहरुले बस्तीमा प्रवेश गर्ने हरेक गाडीमा सवार गर्नेहरुलाई मास्क बाँड्न थालेका छन्। लिबिया पुगेर रिपोर्टिङ गरिरहेकी बीबीसी संवाददाता एना फोस्टरले भनेकी छन्, “डेर्नामा उभिएर हेर्दा लाग्छ, अब केही बाँकी छैन। बाँकी छ त मान्छेबिनाको माटोले पुरिएको बस्ती। बाढीले मानव जीवन पुछेर समुद्रमा मिसाइदिएको छ।”
भौगोलिक रूपमा चारैतिर पहाडले घेरिएको डेर्ना उपत्यका अहिले “नर्क” जस्तै बनेको छ। सन् १९४१ मा जर्मन सेनाको नियन्त्रणमा रहेको समयमा डेर्नामा बाढी आएको थियो। त्यस समयमा मानवीय क्षति खासै भएन। त्यसपछि १९५९ मा आएको बाढीले सयौं मानिसहरुको मृत्यु भयो। लिबियाका इतिहासकार फराज दाउद अल(दारनावीका अनुसार सन् १९६१ मा बाढीलाई रोक्न बस्तीको अर्कोपट्टि ४० मिटर अग्लो बाँध बनाइयो। उक्त बाँधले सन् १९६८ र १९६९ मा शहरलाई बाढीबाट जोगायो।
मुअम्मर गद्दाफी (१९६९–२०११) को शासनकालमा बाँधलाई १९७७ मा मर्मत गरिएको थियो र १९८६ मा पुनःमर्मत गरिएको थियो। त्यही समयमा बाढीबाट शहरको सुरक्षा बढाउन उपत्यकामा अर्को बाँध निर्माण गरिएको थियो। सन् २०११ मा बाढी आयो तर, दुवै बाँधले गर्दा बस्ती जोगियो। यसपटक आएको डेनियल आँधीले दुवै बाँध भत्काइदिएपछि समुद्र बस्तीमा पस्यो र सबै सोहोरेर लग्यो।
आपतकालीन सहयोगको आवश्यकता र रोग फैलिने चिन्ता
बाढी आउनुअघि द्वन्द्वग्रस्त लिबियामा करिब ८ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको थियो। अहिले मानवीय संकट निम्तिएको छ र लिबियाले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ। हाल संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, रोमानिया, फिनल्याण्ड, स्पेन, टर्की, इटाली, इजिप्ट, कतार, यूएई, जोर्डन, ट्युनिसिया, कुवेत, अलजेरियालगायत मुलुकले आपतकालीन मानवीय सहायता सामग्री र चिकित्सक टोली लिबिया पठाएका छन् र अन्य कैयौं मुलुकहरुले पठाउने तयारी गरिरहेका छन्।
कतारबाट मानवीय सहायता सामग्री फिल्ड अस्पतालका लागि उपकरण, पानी पम्प, टेन्ट र कम्बल बोकेका दुईवटा विमान बुधबार बिहान बेनगाजीको बेनिना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। टर्कीले १६८ जनाको उद्धार टोली, दुई खोज तथा उद्धार सवारीसाधन र दुई उद्धार डुंगासहितको उद्धार टोली र मानवीय सहायता सामग्री ढुवानी गर्न तीनवटा विमान पठाएको छ।
इटालीले दुई सैन्य जेट, रसद आपूर्ति र नागरिक सुरक्षा अधिकारीहरू र अन्य आवश्यक उपकरणसहितको टोली लिबिया पठाएको छ। इटालियन रेडक्रसले सेनेटरी सुविधा, पिउने पानी प्यूरिफायर, जेनेरेटर र १,५०० भन्दा बढी झोलालगायतका सहयोग पठायो। संयुक्त अरब इमिरेट्सले १५० टन अत्यावश्यक खाद्यान्न, राहत र चिकित्सा सामग्री बोकेका दुईवटा सहायता विमान पठाएको छ।
इजिप्टले फिल्ड अस्पतालको रूपमा सेवा गर्न मिस्ट्रल हेलिकप्टर वाहक र आफ्नो घर गुमाउनेहरूका लागि टेन्टहरु पठाएको छ। जोर्डनले पाल, कम्बल र खानासहित राहत सामग्री बोकेको सहायता विमान पठाएको छ।
ट्युनिसियाले चारवटा तालिम प्राप्त कुकुरहरू, एक मेडिकल टोली र थर्मल निगरानी उपकरणहरू र एक फिल्ड अस्पतालको अतिरिक्त पीडितहरू पत्ता लगाउन ड्रोनको साथ खोज र उद्धारमा विशेष सहायता र एक नागरिक सुरक्षा टोली पठाएको छ। कुवेतले खाद्यान्न बाहेक ४० टन चिकित्सा र राहत सामग्री बोकेको सहायता विमान पठाएको छ ।
अल्जेरियाले खाद्यान्न, चिकित्सा सामग्री, लत्ताकपडा र टेन्ट बोकेका आठ विमान पठाएको छ। संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रहरूमा मानवीय सहायता प्राप्त गर्न साझेदारहरूसँग काम गरिरहेको बताएको छ। आपतकालीन टोलीहरू जमिनमा मद्दत गर्न परिचालन गरिसकेको जनाएको छ। विश्व खाद्य कार्यक्रम र स्थानीय साझेदार लिबियाले बाढीबाट विस्थापित ५ हजारभन्दा बढी परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ।
संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन उद्धार कोषले बाढी पीडितका लागि १० मिलियन डलर विनियोजन गरेको छ। युरोपेली संघले लिबियालाई सहयोग गर्न आफ्नो नागरिक सुरक्षा संयन्त्र सक्रिय गरेको छ। यसले जर्मनी, रोमानिया र फिनल्याण्डले टेन्ट, फिल्ड बेड र कम्बल, ८० जेनेरेटर र खानाका साथै पानीको ट्यांकी प्रदान गरेको छ ।
इयूले मानवीय कोषमा प्रारम्भिक पाँच लाख युरोको घोषणा गरेको छ। संयुक्त राज्य अमेरिकाले राहत संस्थाहरूलाई आपतकालीन कोषको घोषणा गर्ने र थप सहयोग प्रदान गरेको जनाएको छ। फ्रान्सले फिल्ड अस्पताल पठाएको छ। स्पेनका धेरै प्रान्तका अग्नि नियन्त्रकहरू लिबियामा परिचालन गरिएका छन्। कतिपयले जेनेरेटरलगायत विद्युतीय उपकरणसहितको बक्स बोकेका थिए।
बेलायतले बाढीबाट प्रभावितहरूलाई सहायता उपलब्ध गराउन १० लाख पाउन्ड (१.२५ मिलियन डलर) सम्मको प्रारम्भिक सहायता प्याकेज घोषणा गरेको छ। यसले आश्रय, स्वास्थ्य सेवा र सरसफाइलगायत सबैभन्दा अत्यावश्यक आधारभूत आवश्यकताहरू पहिचान गर्न मैदानमा साझेदारहरूसँग काम गरिरहेको बताएको छ।
विभिन्न मुलुकहरुले सहायता पठाए पनि त्यहाँ भएको क्षतिका लागि भने त्यो क्षतिपूर्ति गर्न पर्याप्त छैन। पूर्वाधारमा भएको क्षतिको त आँकलन पनि गरिएको छैन। डेर्नामा सडक र पुल भत्किएकाले सहर भित्र र बाहिर आवतजावतमा अवरोध भइरहेको छ। अझै पनि भत्किएका संरचनाहरू र बाढीको पानीमा सडिएका शवहरूको ठूलो संख्याले अधिकारीहरूलाई बाँचेकाहरूको लागि रोग जोखिम भएको बताइरहेका छन्। लिबियाका आन्तरिक मन्त्री इमाद अल(ट्राबेल्सीले अधिकारीहरूले सहरमा स्वास्थ्य जोखिमहरूको अनुसन्धान गरिरहे र सम्भावित प्रकोपको खतराबारे निर्णय लिने बताएका छन्। यद्यपि, विश्व स्वास्थ्य संगठनले प्राकृतिक प्रकोपबाट मृत्यु भएका शवहरूले सामान्यतया स्वास्थ्य जोखिम नहुने बताएको छ।
सहायता संगठनहरूले धेरै मृतकहरू अझै पनि माटोमा पुरिएको आशंका गरेका छन्। उनीहरूले बाँचेकाहरूलाई रोगको जोखिम भएकोले बाँचेकालाई शुद्ध पिउने पानी र खाद्यान्नसहितको स्वास्थ्य सेवा आवश्यक भएको बताएका छन्। बाढीले घरबारविहीन भएकालाई जोगाउन पर्याप्त औषधि र सफा पानी अझै डेर्ना पुग्न नसकेको बीबीसीले रिपोर्ट गरेको छ।
२१ औं शताब्दीको सबैभन्दा भयानक प्रकोप
धेरै संघसंस्थाहरुले लिबियाको बाढीलाई २१औं शताब्दीको सबैभन्दा भयानक प्रकोप भएको बताएका छन्। सन् २०१३ मा भारतको उत्तराखण्ड राज्यमा बाढीले ५ हजार ७०० जनाको मृत्यु भएको थियो। त्यसबेला उत्तराखण्डको जनसंख्या डेर्नाको जनसंख्याभन्दा ५० गुणा बढी थियो।
पाकिस्तानमा २०२२ मा आएको बाढीमा १,१२८ व्यक्तिको ज्यान गयो, देशको पूर्वाधार र अर्थतन्त्रमा ठूलो विनाश भयो। सन् २०१० मा पाकिस्तानमा पनि त्यस्तै बाढी आएको थियो, र १,६०० मानिसको मृत्यु भएको थियो। सन् १९३१ मा चीनमा आएको याङ्त्जे बाढीले अनिकाल र बाढीपछि फैलिएको रोगका कारण २० देखि ४० लाख मानिसको मृत्यु भएको थियो। हाल लिबियामा आएको बाढीमा सहरको कुल जनसंख्याको ११ प्रतिशतभन्दा बढीको मृत्यु भएको छ भने १० प्रतिशतभन्दा बढी बेपत्ता छन्। घाइतेको लेखाजोखा हुन सकेको छैन भने बाँचेकाहरुलाई पनि सहज छैन।