बागमती प्रदेशसभा भवनअगाडि डाक्टरहरूको प्रदर्शन

काठमाडौंं । हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएको कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका छन्।

डा. प्रशान्त बिडारी र विकास थापामाथि बुधबार कुटपिट भएपछि कारबाहीको माग गर्दै स्वास्थ्यसंस्थाको आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

गएको साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन्। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

घटनामा संलग्नमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर तीन दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर