मोरक्कोमा भूकम्पबाट दुई हजार आठ सयको मृत्यु

काठमाडौं । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छ भने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् ।

भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौँतारिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।

भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब दुई सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छ भने अन्य हराइरहेका छन् । “यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,” बिलौना गर्दै हसन भन्छन् ।

भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ । परम्परागत घरका इँटा र ढुङ्गा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन ।

“हामी यहाँ राज्यले परित्याग गरेको महसुस गरिहरेका छौँ, हामीलाई मद्दत गर्न कोही आएको छैन । हाम्रा घर भत्किएका छन्, अब हामी कहाँ बस्ने र?” एटलस पहाडको अग्लो क्षेत्रमा रहेका गाउँ मिसिरातका भग्नावशेषमाथि उभिएर रोष व्यक्त गर्दै ४३ वर्षीया खादिजा एट्लकिद प्रश्न गर्छिन् । एक सयभन्दा कमको बसोबास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परेको भएपनि भग्नावशेषमा पुरिएका पशुचौपाया गन्हाएर स्थानीय वायु नै प्रदूषित भएको छ ।

मोरक्कोको पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर गत शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । अल–हौज र ताराउदान्ट प्रान्तका अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफियामा भएको छ ।

स्पेन, संयुक्त अधिराज्य र कतारले खोज तथा उद्धारमा सघाउन आ–आफ्नो टोली परिचालन गरेका छन् । मोरक्कोका उद्धारकर्मीसँगको समन्वयमा उनीहरूले काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ । सावरी साधन पुग्न नसक्ने अनकन्टार पहाडी गाउँमा हेलिकप्टरबाट खाद्य सामग्री खसालिएको जनाउँदै गृह मन्त्रालयले यथाशक्य चाँडो सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैबीच, युरोपेली सङ्घले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजारको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर