दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ को शिलान्यास

काठमाडौं । दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताको जलविद्युत आयोजनाको मंगलबार शिलान्यास गरेका ह्न् ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् । आयोजनाको मुख्य निर्माण २०७८ साल पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युत् गृह, मुख्य सुरुङ, बाँधलगायतका संरचनाहरूको निर्माण तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ ।

आयोजना निर्माणमा अहिले झन्डै एक हजार जना श्रमिक परिचालित छन् । त्यसमध्ये झन्डै पाँच सय जना रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि पाँच वर्षभरी सात–आठ सय जना नेपाली श्रमिकले दैनिक रूपमा रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ ।

आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

आयोजनाबाट बर्सेनि एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युतको अत्यधिक माग हुने हिउँदमा समेत १ सय ४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले देशको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरी नै १ सय ४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको काम २०८३ साल मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर