प्रचण्डहरूका आन्दोलन गर्ने दिन गए : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा भोलि भदौ २७ गो प्रदर्शन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सांसद ज्ञानेन्द्र शाहीले उक्त जानकारी दिए ।
आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको टिप्पणी गरे ।
उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गदै भने भने, “आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरुले देखाउने छ ।” राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको बताए ।

उनले भने – ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छ, अब तपाइँका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ । होइन भने ज्यादा फुरफुर नगरौँ । आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौ । राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ । त्यसको शुरुवात २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौती हो ।’

उनले भने – ‘हिन्दुहरुले मान्दै आएको गाईलाई काटेर ७७ जिल्लामा पु¥याउँछु भन्ने तिनीहरु चाहिँ अतिवादी नहुने ए भाई हो यो हाम्रो आस्था हो । हाम्रो आस्थामाथि तिमीहरुले आक्रमण नगर न त भनेर कसैले कुरा राख्यो भने त्यो चाहिँ अतिवादी हुने ? नेपालका केही मिडिया, केही मान्छेले चाहिँ हिन्दु अतिवादी भन्छन् । अतिवादी भनेको अर्काको घरमा गएर ढुंगाले हान्यो । तिनीहरुले मान्दै आएको धर्म, संस्कार जो विदेशी डलरे धर्म छ त्यसमा हामीले गएर भत्काइदिएपछि पो अतिवादी हुन्छ त । उनीहरु नै हाम्रो धर्म, संस्कार मास्छु भनेर आउने । हामीले मान्दै आएको गौमाताको हत्या गर्ने । अझ हामीलाई अतिवादी भन्ने ? तिनीहरु अतिवादी पनि हुन् । आतंकवादी पनि हुन् । अतिवादी र आतंकवादीलाई ठीक कसरी बनाउनुपर्छ भन्नेकुरा हामीलाई थाहा छ । राम्रोसँग ज्ञान छ । आतंकवादीहरु कसरी तह लागे नेपालमा त्यो कुरा प्रष्ट इतिहासले देखाएको छ । अतिवादी र आतंकवादले देश बन्दैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर