असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चल्ने

काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए। बस सेवा बिहान ९ बजेदेखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा सोमबार छलफल गरेका थिए। ‘छलफलपछि असोज ३ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने। ‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो। तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।

‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले छलफलमा जानकारी दिए । ‘अन्य सबै काम सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भोली २६ भदौदेखि सुरु गर्छौं’, ढकालले छलफलमा भने । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ। त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम पनि सक्याएको छ । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।

व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो। करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालन गर्ने तयारी गरिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा प्रस्तुत गरेका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंकाहरु उब्जिएका थिए। ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’, मन्त्री ज्वालाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर