नेपाली उत्पादनलाई विदेशमा बजारीकरण गर्न आग्रह

काठमाडौं । खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचूर सम्भावना रहेको भए पनि नेपाली व्यवसायीहरु शिक्षित हुन नसकेको बताएका छन् ।

उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढिरहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेतलगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।

ललितपुरमा भएको राजदूतहरुसँग व्यवसायीहरुको छलफलमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवसायीहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।

यसैगरी, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताए । उहाँले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठीक हुन्छ भन्ने सूची तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पारे ।

त्यस्तै, युएईका लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढिरहेको बताए । उनले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्री निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए
कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए । उनले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवर्द्धन हुने बताए । उनले दूतावासमा चिया, कफीलगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर