मलंगवामा टायर बालेर विरोध प्रदर्शन

काठमाडौं । सर्लाहीको मलंगवामा कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेपनि आइतबार टायर बालेर विरोध प्रदर्शन गर्ने क्रम जारी रहेको छ । श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा शुक्रबार साँझ दुई समूहबीच झडप भएको थियो । सोही विषयलाई लिएर विगत तीन दिनदेखि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलित पक्षले निषेधाज्ञाकै बीच आइतबार पनि मलङ्गवा बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बेला–बेलामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भइरहेको छ । आइतबार दिउँसो मलङ्गवा नगरपालिका–३, मा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि ६ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तनावका कारण आइतबार पनि मलङ्गवा बजार बन्द रह्यो । फाट्टफुट्ट मोटरसाइकलबाहेक अन्य सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेन । दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्ति र आमनागरिकको जनजीवन बन्दले प्रभावित बनेको छ ।

मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी आफ्नो धार्मिक तथा सामाजिक मान्यताको पालना गर्दा वा गराउँदा अन्य समुदायको मान्यता र हितप्रति उत्तिकै सम्मान गरी सहिष्णुता कायम गर्न अपिल गरेका छन् । यस्तै, आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गर्ने, सबै क्षेत्रको अगुवाले आ–आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने, संयमता नअपनाइ आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीका लागि सबै पक्षले सहयोग गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यालय प्रमुख, दुवै समुदायका अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायतको उपस्थितिमा बैठक बसेको हो ।

त्यस्तै, बैठकले भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदन बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाउने सहमति गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर