चीनले आफूसँग रहेको सुनको भण्डारण किन खुलाउन चाहँदैनन् ? यस्ता छन् कारण

काठमाडौं । सन् २०२३ जुनको अन्त्यसम्ममा चीनको आधिकारिक सुनको भण्डारण ५ हजार २९ टन पुगेको अनुमान छ । सुनको भण्डारणको आधिकारिक परिमाण कति हो भन्ने कुरा चीनले प्रकाशमा ल्याएको छैन । यद्यपि सन् २०२३ को पहिलो ६ महिनामा चिनियाँ केन्द्रीय बैंकले अनुमानित ३५३ टन किनेको थियो भन्ने मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन्।
चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनासँग कति सुनको स्वामित्व छ भन्ने कुरा वित्तको संसारमा सबैभन्दा गोप्य राखिएको रहस्य हो। किनकि पिपुल्स बैंक अफ चाइनाको भण्डारणमा भएको सुनको वृद्धिलाई हेर्न चीनमा कति सुनको उत्खनन भयो वा आयात गरिएको सुन कति छ भनेर ट्र्याक गरेर मापन गर्न सकिँदैन ।
यसको प्रमुख कारण के हो भने त्यहाँ उत्खनन गरिएको भनिएको र आयात गरिए जति सबै सुन सांघाई गोल्ड एक्सचेन्जमार्फत निजी क्षेत्रलाई बिक्री गरिएको रेकर्डमा देखिन्छ। सबैलाई के थाहा छ भने त्यो कारोबार रेकर्डमा मात्र भएको हुन्छ तर यथार्थमा भने हुँदैन ।
पिपुल्स बैंक अफ चाइनाले अमेरिकी डलर भुक्तान गरेर विदेशमा सुन खरिद गर्छ । तर भन्सार रिपोर्टहरूमा कुनै रेकर्ड नै नराखी यो बहुमूल्य धातु बेइजिङमा पठाउँछ। त्यसैले यसबारेका अध्येताहरूको लागि चिनियाँ केन्द्रीय बैंकले कति खरिद गरिरहेको छ भनी पत्ता लगाउने एउटा मात्र तरिका छ, पिपुल्स बैंक अफ चाइनासँग कारोबार गर्ने बैंक र रिफाइनरीहरूसँग नजिकको सम्पर्कमा रहेका मानिसहरू। एक मिडिया रिपोर्ट अनुसार सन् २०१५ मा एक बहुमूल्य धातु परामर्शदाता ठूलो फर्महरूको लागि काम गर्ने कम्पनीको भित्री व्यक्तिले त्यसबेला पीबीओसीले करिब ३ हजार ३ सय टन सुन राखेको थियो।
हरेक त्रैमासिकमा वल्र्ड गोल्ड काउन्सिलले (डब्ल्युजिसी) सबै केन्द्रीय बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले संयुक्त रूपमा कति सुन खरिद गरेको अनुमान छ भनेर चित्रण गर्ने रकमको सूची प्रकाशित गर्छ। तर, चीनको सन्दर्भमा यो थाहा पाउन गाह्रो छ। काउन्सिलको त्रैमासिक अनुमान सामान्यतया केन्द्रीय बैंकहरूले खरिद गरेको रिपोर्टभन्दा बढी हुन्छ। रिपोर्ट नगरिएको खरिदहरूको कुरा गर्ने हो भने विश्वव्यापी त्यस्तो खरिदको लगभग ८० प्रतिशत चीनले खरिद गर्दै आएको अनुमान छ ।
सन् २०२२ को तेस्रो त्रैमासिकलाई उदाहरणको रूपमा लिऔँ। यस अवधिमा केन्द्रीय बैंकहरूले अनुमानित ४५९ टन सुन खरिद गरेको डब्ल्युजिसीले खुलासा गरेको छ । तर, सबै केन्द्रीय बैंकहरुद्वारा रिपोर्ट गरिएको खरिद भने १०९ मात्र छ। यसरी त्यो बेलाको ३५० टन भिन्नताको ८० प्रतिशत २८० टन चीनको केन्द्रीय बैंकले खरिद गरेको अनुमान छ । रोचक त यो छ कि यसरी गोप्य रुपमा सुन भण्डारण गरेकै अवधि अर्थात् सन् २०२२ को तेस्रो त्रैमासमा चीनको केन्द्रीय बैंकले आफ्नो सुन भण्डारण शून्य भएको रिपोर्ट सार्वजनिक गरेको थियो।
सन् २०२२ को डिसेम्बरमा फाइनान्सियल टाइम्सले सो वर्षको तेस्रो त्रैमासमा चिनियाँ केन्द्रीय बैंकको गोप्य खरिदको बारेमा लेख्यो भने विश्वको दोस्रो ठूलो सुन खानी ब्यारिक गोल्डका प्रमुख कार्यकारी मार्क ब्रिस्टोले धेरै स्रोतहरूसँगको छलफलको आधारमा चीनले २०० टनको उच्च रेकर्डको हाराहारीमा सुन खरिद गरेको बताए।
चिनियाँ केन्द्रीय बैंकले सन् २०२३ को पहिलो ६ महिनामा १०३ टन सुन खरिद गरेको रिपोर्ट गरेको छ, जबकि रिपोर्टमा उल्लेख नगरिएको खरिद २५० टन जति रहेको अनुमान छ। यसरी हर्दा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र चीनले कूल ३५३ टन सुन आफ्नो भण्डारमा थपेको छ ।
यी सबै कुराहरूको अध्ययन गरेर नै यो अनुमान गरिँदै छ कि चिनियाँ केन्द्रीय बैंकसँग हाल कूल ५०२९ मेट्रिक टन सुन छ। यो भण्डारणले चीनलाई अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार गर्ने देश बनाउने छ। अर्को एक अध्ययनअनुसार चीनमा निजी सुनको भण्डारको अवस्था २४,६९८ टन छ। र, यसरी दुवै जोड्दा चीनको मुख्य भूमिभित्र कूल भण्डारण २९,७२७ टन सुन छ।

किन चीन खोल्दैन कति सुन छ भन्ने कुरा ?

चीनसँग कति सुन छ भन्ने कुरा ठ्याक्कै खुलासा गर्दैन । उ त्यो जानकारी रणनीतिक कारणले गोप्य राख्न चाहन्छ। कुनै देशको सुनको सही मात्रा थाहा भएमा विश्वमा यसको आर्थिक र राजनीतिक प्रभावलाई असर गर्न सक्छ। यस जानकारीलाई खुलासा नगरी चीनले आफ्नो वित्तीय कारोबार र अन्तर्राष्ट्रिय सम्बन्धमा केही स्तरको रहस्य कायम राख्न खोजेको हो। यो व्यक्तिगत गोपनीयता र सुरक्षा कारणहरूका लागि व्यक्तिहरूले आफ्नो वित्तीय सम्पत्तिहरू अरूलाई खुलासा नगर्ने तरिका जस्तै हो। यसबाहेक चीनसँग कति सुन छ भनेर खुलासा नगर्नुका केही थप कारणहरू पनि छन् ।
सुनको भण्डारणमा उल्लेख्य वृद्धि वा कमी देखाउँदा विश्वव्यापी सुनको मूल्यमा उतारचढाव आउन सक्छ, जसले चीनको आफ्नै अर्थतन्त्र र वित्तीय स्थिरतालाई असर गर्न सक्छ। यो देखेर पनि चीन त्यो रहस्य खोल्दैन। त्यसैगरी अर्को हो, भूराजनीतिक रणनीति। आफ्नो सुनको भण्डार गोप्य राख्नु ठूलो भूराजनीतिक रणनीतिको हिस्सा हुन सक्छ। आफ्नो होल्डिंग खुलासा नगरी चीनले विश्वव्यापी वित्तीय प्रणालीमा आफ्नो मनसाय वा महत्त्वाकांक्षा के छ ? भनेर लुकाउन सक्छ । जसले गर्दा उ धेरै वाधाबाट जोगिन सक्छ।
प्रतिस्पर्धात्मक लाभ अर्को कारण हो । स्वाभाविक रूपमा चीन आफ्नो व्यापार सम्झौताहरूबाट फाइदा लिन चाहन्छ। तर, अरूलाई चीनको सुन होल्डिंग कति छ भन्ने थाहा हुँदा अन्य देशहरूले आर्थिक छलफलमा आफुलाई माथि राख्न सक्छन्। अर्को हो, मुद्रा मूल्याङ्कन। यदि चीनले आफ्नो सुन होल्डिङमा उल्लेखनीय वृद्धिको घोषणा गर्‍यो भने यसले उसको मुद्रा युआनको मूल्यको बारेमा सबैले अनुमान लगाउन सक्छन् । जसको फरक आर्थिक परिणामहरू हुन सक्छ।
चीनले अमेरिकालाई चुनौती दिने दीर्घकालीन योजनाको एक भागको रूपमा सुन जम्मा गरिरहेको हुनसक्छ भनेर केही अनुमानहरू सार्वजनिक भइरहेका छन्। विश्वको प्राथमिक रिजर्भ मुद्राको रूपमा डलर रहेकोमा त्यसलाई प्रतिस्थापन गर्ने कुनै पनि मुद्रा चीन समर्थित हुनुपर्ने हुन्छ। त्यसैले ग्लोबल रिजर्भ मुद्राका रूपमा सुन लुकाएर राख्ने र यसको सही मात्रा नखोल्ने कुरा यस सन्दर्भमा रणनीतिक कदम हुन सक्छ। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर