अलैँचीको मूल्य दोब्बर, किसान उत्साहित

काठमाडौं ।  गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ। भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन्।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि रु ५६ हजारसम्ममा कारोबार भइरहेको बताए। रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजार रुपैयाँ मात्र मूल्य थियो। उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार १ साताअघि नयाँ अलैँची प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि ३ दिनअघि प्रतिमन ५७ हजार रुपैयाँमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजार रुपैयाँमा कारोबार भएको उनले जानकारी दिए। ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो,’ अधिकारीले भने।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन्। अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ। नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर