जी–२० नयाँदिल्ली घोषणापत्र जारी

काठमाडौं ।  जी–२० नेताहरूको घोषणा पत्रमा सबै देशहरू सहमत भएका छन्। यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले दिएका हुन् । मोदीले भने, ‘हाम्रो टोलीको कडा परिश्रम र तपाईंहरू सबैको सहयोगले नयाँ दिल्ली जी–२० नेताहरूको घोषणामा सहमति भएको छ,’ उनले भने, ‘यो घोषणापत्र पनि स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकृत गरेको घोषणा गर्दछु।’

उनले भने, ‘यस अवसरमा म हाम्रा मन्त्रीहरू, शेर्पाहरू र सबै पदाधिकारीहरूलाई हार्दिक बधाई दिन्छु जसले कडा परिश्रम गरेर यसलाई सार्थक बनाउनु भएको छ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० का सबै सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरेका छन्, ‘सबै साथी जी–२० सदस्यहरूलाई उनीहरूको समर्थन र सहयोगको लागि मेरो कृतज्ञता।’

जी–२० का भारतीय शेर्पा अमिताभ कान्तले सोसल मिडिया प्लेटफर्म नयाँदिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरे। उनले नयाँ दिल्ली घोषणापत्रमा यी विषयमा केन्द्रित रहेको बताए ।

–बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि
–दिगो विकास लक्ष्यमा प्रगतिलाई गति दिने
–दीर्घकालीन भविष्यको लागि हरियो विकास सम्झौता
–२१ औँ शताब्दीको लागि बहुपक्षीय संगठनहरू

जी–२० नेताहरूको शिखर सम्मेलनको घोषणाले युक्रेनमा जारी युद्धको सन्दर्भमा बालीमा भएको छलफललाई दोहोर्‍याएको छ।  नयाँ दिल्ली घोषणामा भनिएको छ, ‘युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघको महासभाको प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडान दोहोर्‍यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसँग सहकार्य गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छौँ।

संयुक्त राष्ट्रको बडापत्र अनुसार, सबै राज्यहरूले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको धम्कीबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर