भारतमा जी–२० शिखर सम्मेलन, अफ्रिकन युनियन नयाँ सदस्य राष्ट्र

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आज शनिबारदेखि जी–२० को शिखर सम्मेलन सुरु भएको छ। वान अर्थ, वान फेमिली, वान फ्युचर (एक पृथ्वी, एक परिवार, एक भविष्य) को सन्देशसहित नयाँ दिल्लीको मण्डमपमा सुरु भएको सम्मेलनमा विभिन्न शक्तिराष्ट्रका प्रमुख र प्रतिनिधिहरू उपस्थित छन्।

सम्मेलनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर ओलाफ शोल्ज, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनिया प्रतिनिधि ली चियाङ्ग, रुसका विदेशमन्त्री सर्गेई लाभारोभ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामोफोसा, युरोपियन कमिशनकी अध्यक्ष उर्सुला वान डेर, जापानका प्रधानमन्त्री फुमियो किशिदा सहभागी छन्।

त्यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुगनाथ, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेस, इजिप्टका प्रधानमन्त्री अब्देल फतह एइ(सिसि, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अबदुल्लाजिज अल साउदलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको बिबिसीले उल्लेख गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङ भने जी–२० सम्मेलनमा सहभागी भएनन्। सम्मेलनमा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा प्रतिनिधिहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मण्डपमस्थित प्रगति मैदानमा स्वागत गरे। कार्यक्रमको मञ्चमा कोर्णार्क चक्रको तस्बिर राखिएको छ। बिबिसीका अनुसार कोर्णार्क चक्र पहिलोपटक १३ औं शताब्दीमा राजा नरसिंहदेव प्रथमको शासन कालमा बनाइएको थियो। सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री मोदीले शुक्रबार मोरक्कोमा गएको भूकम्पका कारण त्यहाँ भएको जनधनको क्षतिबारे दुःख व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मोदीले आजै अफ्रिकन युनियनलाई पनि जी–२० को स्थायी सदस्य राष्ट्र घोषणा गरे। बिबिसीका अनसार सो निर्णय लिनुपूर्व उनले अमेरिकी राष्ट्रपति बाइडेनसँग छलफल गरेका थिए। बाइडेन सहमत भएपछि मोदीले अफ्रिकन युनियनलाई पनि जी–२० मा सहभागी गराइएको घोषणा गरेका हुन्। योसँगै जी–२० मा आवद्धको संख्या एक युनियनसहित १९ राष्ट्र पुगेको छ। संयुक्त राज्य अमेरिका, रुस, चीन, भारत, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, इन्डोनेशिया, इटली, रिपब्लिक अफ कोरिया, मेक्सिको, साउदी अरब, दक्षिण अफ्रिका र टर्की जी–२० राष्ट्र हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर