गगनको कटाक्ष : दाइले कस्लाई टिकट दिन्छ ? भाउजूलाई….

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा पार्टीले आयोजना गरेको तीज विशेष कार्यक्रममा महामन्त्री थापाले वडाको सभापति छान्ने अधिकार पार्टीले दिएपनि त्यही वडाको अध्यक्षको उम्मेदवार छान्ने अधिकार भने नदिएको बताए ।

‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ,’ उनले भने । त्यसो भए नदिने अवस्था कसरी बनाउने ? महामन्त्री थापाका अनुसार एउटा अमूक दाइको मात्रै विषय नभई यो परिपाटी नै कसरी बदल्ने भन्ने विषय प्रधान हो ।

‘तरिका छ । १५ औं महाधिवेशनबाट बदलौं। यो विषयमा हामी पैरवी गरिरहेका छौं,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्र १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदानबाट हुन्छ । सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ ।’

प्रत्यक्षदेखि समानुपातिक उम्मेदवार त्यसरी नै छानिने हो भने कांग्रेसका कुनैपनि नेताले दादागिरी देखाउन नसक्ने उनले बताए । ‘माथि आफूभन्दा ठूलो कुनै राजा महाराजाको संरक्षण भएर कसैले पनि जमिनमा खुट्टा टेक्न पाउँदैन । जमिनमा खुट्टा टेक्नका लागि तपाइँको घर नआर्इ तपाइँलाई जय नेपाल नभनी वा नढोगी हुँदैन । तपाइँलाई ढोग्नु भनेको प्रकारान्तरले राजनीति नेतातिर फर्केकोबाट उल्टाएर जनतातिर फर्काउनु हो’, उनले भने । थापाले त्यसो गर्न सके पार्टीभित्र न्यायको परम्परा सुरु हुने  बताए । न्यायको आधारमा चलेको पार्टीले समाजमा पनि न्याय गर्ने सक्ने उनको भनाइ छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर