पृतनापतिको बैठकमा फास्ट ट्र्याकको चर्चा

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकमा उनले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ”, रक्षामन्त्री खड्काले भने ।

उनले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न सडक कोरिडोरको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढङ्गले निर्धारित समयमा सम्पन्न गर्न सेना सक्षम हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री खड्काले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुनसक्ने परिस्थिति, सुरक्षा खतरा तथा चुनौती, पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास एवं जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधनलगायत क्षेत्रमा चुनौती देखिएको बताए ।

कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको सहभागिता थियो। बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझाव प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर