सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्ममिति कागज मगाउने आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पुन: पीडितको जन्ममितिको कागज मगाउने आदेश गरेको छ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गौशाला २६) को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको हो। बिहीबार दिउँसो सुरु भएको सुनुवाइमा सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। परियारपछि पीडित किशोरीका तर्फबाट मोहना अन्सकारी र नारायण चौलागाईंले पनि बहस गरे।

अदालती समय सकिएपछि न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा रहने गरी शुक्रबारका लागि सुनुवाइ सार्ने भनेकी थिइन्। तर लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेले पीडितको यकिन जन्ममिति जनाउने कागज मगाउने आदेश माग गरे। पीडितले बसाइँ सरेको कागजातमा यकिन जन्ममिति उल्लेख हुनसक्ने भन्दै घिमिरेले इजलासमा उक्त कागजात झिकाउने आदेश माग गरेका थिए।

सन्दीपका कानुन व्यवसायी घिमिरेको मागअनुसार न्यायाधीश कार्कीले जन्ममिति जनाउने कागजात मगाउने आदेश दिइन्। पीडित पक्षका कानुन व्यवसायीले मुद्दाको निरन्तर सुनुवाइ हुनुपर्ने भन्दै कागजात पनि मगाउँदै गर्नुपर्ने बताएका थिए।

यसअघि पटक–पटक अन्तिम फैसलाका पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको मुद्दाको आज (बिहीबार) लाई पेसी तोकिएको थियो। सन्दीपको मुद्दामा यसअघि भदौ १० गते पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै सरेको थियो। भदौ १० गतेको पेसी सरेपछि सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका थिए। पाकिस्तान र श्रीलंकामा एसिया कप क्रिकेट खेलेर राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किसकेको छ।

भदौ १० गते अगाडि सन्दीपको मुद्दामा साउन ३२ गते (बिहीबार) सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर