सांघातिक आक्रमण र कान्ति अस्पताल घटनाबारे सांसदहरू आक्रोशित

काठमाडौं । सांसदहरुले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै उनीहरुले उक्त घटनाको छानविन गर्न समेत माग गरेका छन्। त्यस्तै सांसदहरुले उपचार नपाएर कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाको समेत छानविन गर्न माग गरेका छन्।

बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध जनाए। उनले सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको अवस्थामा थामथुम पार्ने प्रयास गर्न लागेको भन्दै गहिराइमा पुगेर अनुसन्धान गर्न माग गरे। उनले आफूहरुलाई पटक पटक बिभिन्न धम्की आएको र एक्लै हिँड्न पनि कठिन भएको बताए।

काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित नदेखिएको भन्दै हिंसालाई कुनै मानेबाट प्रश्रय दिन खोजिए ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए। सांसद थापाले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटना सामान्य नभएको भन्दै सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गरे।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना गर्दै घटनाको प्रधानमन्त्रीले जिम्मा लिएर जवाफ लिनुपर्ने बताए। नेताहरुमाथि पटक पटक आक्रमण भइरहँदा अपराधीहरुलाई प्रश्रय मिल्ने गरि अभिव्यक्तिहरु आउनु उचित नभएको भन्दै राज्यले गम्भीर रुपमा लिनुपर्ने उनले बताए।

त्यस्तै बर्तौलाले कान्ति बाल अस्पतालमा समयमा नै उपचार नपाउदा बालिकाको मृत्यु अस्पतालको चरम लापरवाही भएकाले अस्पताल प्रशासनले जिम्मेवारी लिनुपर्ने जिकिर गरे।

त्यस्तै राप्रपा सांसद धवलशम्शेर राणाले महेन्द्र यादवमाथि भएको आक्रमणपछि राप्रपालाई आक्षेप लगाउने काम भएको भन्दै यसमा संलग्न व्यक्ति राप्रपाको नभएको स्पष्ट पारे। उनले राप्रपा कहिले पनि हिंसामा विश्वास नगर्ने भन्दै उक्त घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्ने जिकिर गरे।

यसैबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्युका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्। बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए। सांसदहरुले गराएको ध्यानकर्षणपछि सभामुख घिमिरेले जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर