बालेनको मनोगत योजना : अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम काठमाडौंमै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सकिने बताएका छन् ।
श्रीलङ्कामा भएको नेपाल–भारतबीचको क्रिकेट खेल हेरेपछिको अनुभव बताउँदै उनले सो खेल भएको जस्तै स्टेडियम बनाउन जग्गाबाहेक ८०–९० करोड भन्दा बढी खर्च नलाग्ने बताउँदै सरकारले काठमाडौंं आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले स्टेडियम बनाउने आ्फनो मनोगत योजना अभिव्यक्त गरे ।
सिहदरवारमा आगो झोस्ने भनेर सामाजिक सञ्जालमा लेखेर विवादस्पद बनेका मेयर बालेन युपटक भने रचनात्मक कुरा गर्छन् ।

उनको अभिव्यक्ति यसप्रकारको छः

“फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलङ्का पुग्दा श्रीलङ्काको अध्यागमनको कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरू एक्कासि श्रीलङ्का किन आइरहेका छन् ?” श्रीलङ्काको अध्यागमन चकित पर्ने गरिएको सङ्ख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको सङ्ख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलङ्का पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला ।

टिभीमा देखिने विराट, रोहितहरूलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यही बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्यारापिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।

यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठुला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरी सकेको छौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर