कनेक्सन बालेन : रुटिन अफ नेपाल बन्द अचानक बन्द
काठमाडौं । फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । ४० लाख फलोअर्स भएको सो पेज बन्द भएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको बताइएको छ ।
उक्त पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा स्टाट्स लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।
मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो ।
विवादमा परेपछि रुटिनले अस्थायीरूपमा पेज बन्द गरेको हो । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि रुटिन अफ नेपाल बन्दले उनको पक्षमा लवबङ गरेको थियो । बालेन मेयर बनेपछि पनि सो पेजले उनको समर्थनमा लेख्ने गरेको छ । बालेन र भिक्टर नजिकका साथी हुन् ।