प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको १० वटै विषयक समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापतिका लागि हिजो आइतबार उम्मेदवारी दर्ता गरिएको थियो । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता भएकोमा पराजुलीले फिर्ता गरिपछि खान निर्वाचित भए ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

यसैगरी पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । प्रनिधिसभाको चुनाव भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर