प्रतिनिधिसभाको नौ वटा समितिमा सभापति निर्विरोध हुने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने भएको छ । प्रतिनिधिसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधिसभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।

प्रमुख राजनीतिक दलहरूले समिति सभापतिमा भागबन्डा गरेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका अन्य दलले सभापतिमा भागबन्डा पाएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समितिमा भाग पाएको छ । नेकपा माओवादी केन्द्रले पाएको दुई समितिबाट एउटा राप्रपाले पाएको हो । समितिको नेतृत्वमा राजनीतिक सहमति नभएपछि रास्वपाले भने एउटामा मनोनयन दर्ता गरेको छ ।

प्रतिनिधिसभा सचिवालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट तीन समितिमा उम्मेदवारी परेको छ । कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणाको उम्मेदवारी परेको छ । तीनै समितिमा एक उम्मेदवारी परेको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखासहित दुई समितिमा उम्मेदवारी दिएको छ । लेखामा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहले उम्मेदवारी दिनुभएको छ । लेखा प्रतिपक्ष दलले पाउने संसदीय मान्यता अनुसार एमालेले पाएको हो । एमालेले उम्मेदवारी दिएका समितिमा पनि एकल मनोनयन परेको छ । यस्तै माओवादी केन्द्रले कानुन न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाएको छ । सुवेदीको पनि एकल मनोनयन परेको छ । यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा दीपक सिंहलाई उम्मेदवार बनाएको छ । सिंहको पनि एकल उम्मेदवारी दर्ता भएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीको भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशीको उम्मेदवारी परेको छ । जोशीको पनि एकल मनोनयन परेको छ । यस्तै जनता समाजवादी पार्टीले पाएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव सभापतिको उम्मेदवार छन् । यादवको पनि एकल मनोनयन परेको छ । जनमत पार्टीले पाएको उद्योग तथा वाणिज्य समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । उद्योगमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । दुईबीच सोमबार निर्वाचन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर