भारत मंगल र शुक्र ग्रहमा पुग्ने क्षमता राख्दछ : इसरो

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ । इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका हुन् । तिरुवनन्तपुरममा भएको कार्यक्रममा उनले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दावी गरे ।

उनले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताउँदै सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उनको भनाइ छ ।

इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ । यसअघि अस्ति शनिबार प्रधानमन्त्री नरेन्द्र मोदी इसरो मुख्यालय पुगेर वैज्ञानिहरूको हौसला बुलन्द पारेका थिए । मोदीले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने र चन्द्रयान–३ले पहिलोपटक टेकेको चन्द्रभूमिलाई शिवशक्ति नामकरण गरेको घोषणा समेत गरेका थिए ।

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा गत बुधबार सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्दै इतिहास रचेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर