नेपाललाई महिला टी–ट्वान्टी सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय ग-यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यति बेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने रन नबनाई कन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुसी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक-एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुसी डङ्गोल भइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यसै गरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो । उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो । महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर