सिन्धुपाल्चोकको मेलम्ची नदीमा ठूलो बाढी

काठमाडौं । अबिरल वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा ठूलो बाढी आएको छ। बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा क्षति गरेको प्रहरीले जनाएको छ। बाढीको कारण मेलम्ची–हेलम्बु सडकमा यातायात अवरुद्ध भएको छ। बाढीले हेलम्बु–४ स्थित सरस्वती माविको शौचालय बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्।
पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनले बताइन्। बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको छ। कक्षा कोठाबाट डेस्क, ब्रेच हटाएको कारण सरस्वती माविको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए। सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची क्षेत्रमा त्रास बढेको बताए।