बाढीपहिरोका कारण सात वटा राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण सात वटा राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् । सडक विभागका अनुसार तमोर करिडोरअन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार खाँदबारी नुम किमाथाङ्का सडक खण्ड बन्द छ ।

यस्तै, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेसी, नाग्मा–जुम्ला सडक, डुम्रे-बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ । पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर