सुदूरपश्चिम र कर्णाली प्रदेशमा उज्याली गोरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज (बिहीबार) उज्याली गोरा (गौरा) मनाइँदै छ। चन्द्रमासअनुसार भाद्र शुक्ल अष्टमीमा मनाइने यो पर्व यस वर्ष भने साउन शुक्ल अष्टमीमा मनाइँदैछ।

भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै गौरा मनाउन लागिएको हो। धर्मशास्त्रविद् प्रा तोयराज नेपाल चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष श्रावण शुक्ल अष्टमीकै दिन गौरा मनाउनुपर्ने शास्त्रीय विधान रहेको बताउँछन्। गौरा पर्वमा महेश्वर (शिव) र गोरा, गौरी (पार्वती)को पूजा गरिन्छ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ।

गौरालाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन्। संघीय राजधानी काठमाडौंमा पनि सुदूरपश्चिम र कर्णालीका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशी बताउँछन्।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको प्रतिमूर्ति बनाउने गरिन्छ। यसरी बनाइएको देवीको प्रतिमूर्तिलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा छ। यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौँ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ। जसलाई बिरुडा भनिन्छ। अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ। भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ। पाँच किसिमका गेँडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ।

गौरा घरमा गौरा भित्र्याएपछि २–३ दिनसम्म विभिन्न विधिसहित पूजा गरिन्छ। त्यसपछि मंगलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा पवित्र स्थलमा लगेर सेलाइन्छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर