विद्यार्थीलाई डेंगु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन आग्रह

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेंगु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेको छ ।

सातवटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, पालिका र शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै डेंगु र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई चनाखो रहन आग्रह गरिएको छ । केन्द्रको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत प्रकाशकुमार खरेलले केन्द्रले डेंगु र आँखा पाक्ने रोगबारे सचेतना फैलाउनसमेत आग्रह गरेको बताए ।

डेंगु र आँखा पाक्ने जस्तो रोग छिट्टै फैलिने र विद्यार्थी तथा कर्मचारीको स्वास्थ्यलाई असर पार्ने भएकाले शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई प्रकोपको अवस्थामा यी रोगको लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमबारे सचेतना जगाउनका लागि सही र सान्दर्भिक जानकारी प्रदान गर्न आवश्यक रहेको केन्द्रले गरेको परिपत्रमा उल्लेख छ ।

केन्द्रले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनलाई निरन्तरता दिनका लागि डेंगु र आँखा पाक्नेसम्बन्धी सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई सुरक्षितरूपमा निरन्तरता दिनसमेत आग्रह गरेको छ । देशभर अहिले डेंगु र आँखा पाक्ने रोग फैलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर