सन्दीप लामिछानेविनाको नेपाली क्रिकेट टोली, सकारात्मक नतिजाको अपेक्षा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा कप्तान र प्रशिक्षकले उक्त दाबी गरिएको हो ।

कप्तान पौडेलले भारत र पाकिस्तानसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘‘हामी शतप्रतिशत दिएर खेल्नेछौँ । क्रिकेटमा जुनसुकै टिमले जित्न सक्छ । त्यो दिन जसले राम्रो खेल्छ, उसैले जित्ने हो । हामीले राम्रो खेल्यौँ भने जित्नेछौँ,’’ पौडेलले भने । नेपाली टोलीको तयारी राम्रो भएकोले सबै खेलाडीमा उच्चमनोबल रहेको पनि पौडेलले बताए । यस्तै टोलीका प्रशिक्षक देसाईले एसिया कपमा लागि आफू सकारात्मक रहेको बताए । ‘‘पछिल्लो ५–६ महिना हामीले जित्ने मानसिकताका साथ क्रिकेट खेलिरहेका छौँ । आशा छ, हाम्रो जितको मानसिकतामा परिवर्तन आउने छैन,’’ उनले भने ।

देसाईले स्पिनर सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास पनि व्यक्त गरे । ‘‘सन्दीप च्याम्पियन क्रिकेटर हो । परिस्थितिजन्य कारणले उनी केही ढिला पाकिस्तान जानेछन् । हामी यसअघि दक्षिण अफ्रिका जाँदा पनि सन्दीप केही ढिला आएका थिए । उनी विश्वकप क्वालिफायरमा पनि गएका थिए । अहिले फरक परिस्थिति हो । यसलाई सबैले बुझ्नुपर्छ । हामी सन्दीपलाई ड्रेसिङ रुममा प्रार्थना गरिरहेका छौँ, कि जित सत्यको होस् । अदालतको फैसला आएपछि एउटा रिलिफ हुनेछ ।’’

देसाईले यसबीचमा सन्दीपको तारिख छ भन्ने सुनेको पनि बताए । कप्तान पौडेलले यदि एसिया कपमा सन्दीप अनुपस्थित भए टोलीको प्रदर्शनमा ठुलो असर पर्ने बताए । सन्दीप अहिले किशोरी बलात्कार अभियोगको मुद्दा खेपिरहेका छन् । पाकिस्तानमै अभ्यास सकेर नेपाल घरेलु टोली पाकिस्तानसँग एसिया कपमा अगस्ट ३० मा आफ्नो पहिलो खेल खेलेर सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल खेल्न श्रीलङ्का जानेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर