छोराछोरी बराबरी भन्ने सन्देश दिने बनेपाको कन्यापूजा परम्परा

काठमाडौं । प्राचीन शहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्या पूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी’ बराबरी ।

बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्या पूजा गरिन्छ । विसं १९५९ देखि यहाँका स्थानीयले यस परम्परालाई विशेष तामझाम, रमझमसहित सामूहिक संलग्नतामा मनाउँदै आएका छन् । अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्या पूजा गत वर्षदेखि पुनः निरन्तरता पाएको छ । यस अवधिमा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्याको पूजा गरिएको छ ।

सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत रजस्वला नभएका (दश वर्षमुनिका कन्या) को पूजा गर्ने गरिएको जनाइएको छ । यस वर्ष भदौ २० गते कन्या पूजा गरिने समितिले जनाएको छ । रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहेको स्थानीय लम्बोदर कायस्थले बताए ।

यही मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्दै आइएको उनको भनाइ थियो ।
घाम र हावाको सन्तुलन मिलाउन चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो बनेपा । यहाँ नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार छन् । यस नगरमा एक सय २१ वर्ष पुरानो इतिहास बोकेको कन्या पूजाको प्रचलन पछिल्ला केही वर्षदेखि जिल्लाका अन्य बजार तथा बस्तीमा पनि गर्न थालिएको स्थानीय बताउँछन् । कन्यालाई पूजा गर्नका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका समितिका सदस्य कायष्थले जानकारी दिए । उनका अनुसार कन्या पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा, स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर