नेकपा एसका मन्त्री पनि पार्टी कार्यालय जाने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीले प्रत्येक हप्ताको दुई दिन पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गरी गुनासो सुन्ने भएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटघाट हुनेछ । सो क्रममा नेता, कार्यकर्ता तथा सर्वसाधारणको गुनासो सुन्ने र समस्या समाधानमा मन्त्री लाग्नेछन् ।

पार्टीका उपाध्यक्षसमेत रहेका कृषि तथा पशुपछीमन्त्री डा. बेदुराम भुसालले प्रत्येक हप्ताको आइतबार र बुधबार २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा उपस्थित हुनुपर्ने बताए । यसैगरी, पार्टीका उपमहासचिव समेत रहेका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालले पार्टी कार्यायलमा प्रत्येक हप्ताको सोमबार र शुक्रबार २ बजेदेखि ३ बजेसम्म उपस्थित हुने उपमहासचिव तुलाधरले जानकारी दिए ।

मन्त्रीहरू पार्टी कार्यालयमा उपस्थित भएर सर्वसाधारण, नेता, कार्यकर्ताका गुनासो सुन्ने र त्यसलाई समाधान गरी देश र जनताको पक्षमा सरकारको तर्फबाट कार्य गर्ने उनले बताए ।

यसैबीच, एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालय बैठकले आगामी ९ वैशाखमा देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय बैठकले गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

‘२२ अप्रिल २००६ मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना २२ अप्रिलमा भएको थियो । कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने हाम्रो पार्टीले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर