वीर अस्पतालले आफ्नो सेवामा व्यापक परिवर्तन गर्दै

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.
सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागिपरेको बताए । उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको जानकारी दिए ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।

‘‘अप्रेसनका लागि पालो कुर्नुपर्ने समस्यालगायत सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने कुरालाई लिएर डकुमेन्ट समितिबाट प्राप्त भएको छ’’, डा. पौडेलले भने, ‘‘हामीले सबै ठाउँमा विस्तारित अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा सुरु गर्ने भन्ने सोचाइमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटिल र यथाशीघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकीकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’’

डा. पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकिएको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको पनि जानकारी दिए । उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई–तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।

‘‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई विस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई चलायमान राख्नुप¥यो । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडि बढेका छौँ’’, डा. पौडेलले भने। ‘‘त्यो चाहिँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सिएल्ली काम भइसक्यो । केही डिपार्टमेन्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन सुरु गरिसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको सुरुवात गर्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनका लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसका लागि अहिले योजनामा छौँ ।’’

आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको डा. पौडेलको भनाइ छ । उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए ।

उनले बिरामीलाई दृष्टिगत गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । डा. पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई दृष्टिगत गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिए । वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शय्या सञ्चालनमा आएको छ ।

वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । निर्देशक डा. पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौती सिर्जना भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर