मुख्यमन्त्री थापाले विश्वासको नपाउन भन्ने दाउपेचमा एमाले

काठमाडौँ । प्रदेशसभाको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौँ आएकी छन् । उनी बिहान यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौँ आएकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज सोमबार बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए तर, थापाको मागविपरीत उपसभामुख दनुवारले भने आजका लागि समय तय गरेकी थिइन् ।

बैठकको समय तय गरेकी उपसभामुख दनुवारले आजै कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएकी थिइन् । त्यहाँका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुखले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो । उनै उपसभामुख अनुपस्थित हुने भएपछि गठबन्धनमा अन्योल र संकट पर्ने देखिएको छ । गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्यहरू बिदामा बसेका छन् ।

अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका अवसर पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर