पश्चिमी राष्ट्रहरू रुससँग वार्ता गर्न अनिच्छुक : लाभारोभ

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताएका छन् । रुसलाई निमन्त्रणा नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले बहुपक्षीय बैठकहरू गरेका छन् ।

विदेशमन्त्री लाभारोभले अन्तर्राष्ट्रिय मामिला पत्रिकासँगको शनिबारको अन्तर्वार्तामा भनेका छन्, सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रुसको बुझाइ र चाहनालाई भने पूर्णरूपमा इन्कार गरिएको छ ।

रुस सधैँ फलदायी वार्ताका लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले कीभलाई मिन्स्क सम्झौताहरू कार्यान्वयन गराउन वर्षौंदेखि प्रयास गरेको विदेश मन्त्रीको दाबी छ ।

विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता शुरु गर्ने युक्रेनको प्रस्तावमा रुसले प्रतिक्रिया दिएको थियो तर सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उनको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभारोभको आरोप छ । पश्चिमी प्रायोजकहरूले लगातार युक्रेनलाई बिग्रँदो स्थितिलाई थप भयावह बनाउन दबाब दिएका छन् । अहिले युक्रेनमा रूस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ । पश्चिमी राष्ट्रहरूको वार्ताको आह्वान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रुसले बुझेको पनि मन्त्री लाभारोभले उल्लेख गरे । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर