‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र : प्रधानसेनापति शर्मा
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी शुक्रबार बेलुकी हेरेपछि चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिए ।
“चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ । जङ्गलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ । यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु”, प्रधानसेनापति शर्माले भने, “यो चलचित्र उत्कृष्ट बनेको छ ।”
उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए ।
“म आफैँ पूर्वगोर्खा सैनिक भएकाले यसलाई एकदशकको मेहनतमा बनाएको हुँ । यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छ । अब हामीले हाम्रो कथा भन्न सुरू गर्नुपर्छ भनेर सुरुआत गरेँ”, निर्देशक चाम्सले भने, “मलाई नेपाली आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ । हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ ।”
गोर्खालीको वीरतालाई यही भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, “हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने छन् । यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुर्याउन मद्दत गर्नेछ ।”
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’ चलचित्र हो । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।