झ्याप्प झ्याप्प बिजुली जाने प्राधिकरणको आज वार्षिकोत्सव

काठमाडौं । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला  नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ ।

पटक–पटक बिजुली काटिने समस्याका कारण उपभोक्ताले सास्ती पाइरहेका बेला प्राधिकरणले आज ३८औँ वार्षिकोत्सव मनाउँदैछ । लगातार बढ्दै गएका ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने दायित्व तथा औद्योगिकीकरणमा जोड दिनुपर्ने आवश्यकताबीच प्राधिकरणले अझै जिम्मेवार भएर नयाँ योजना र कार्यक्रम अगाडि बढाउनुपर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका कारण वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरण प्रमख प्राथमिकतामा रहेको बताउनुहुन्छ । आर्थिक वर्ष २०७८–७९ मा  ४७ लाख ७० हजार ग्राहक रहेकामा आव २०७९–८० मा सात दशमलव सात प्रतिशतले वृद्धि भई ५१ लाख ३० हजार पुगेका छन् । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका पाँच लाख १० हजार ग्राहकसहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ ।

हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत् आयोजना एवं सौर्य विद्युतबाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । स्वच्छ ऊर्जाको पहुँचमा नेपालले गरेको प्रगति दक्षिण एसियाली देशको तुलनामा अब्बल छ । आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीसामु विद्युत्को पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण अगाडि बढाइएको छ । प्राधिकरणले मुगु र हुम्लामा मात्रै केन्द्रीय प्रणाली जोड्न बाँकी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन दातृ निकायको सहयोगमा रु. ५० अर्ब बराबरकोे लगानी  सुनिश्चित गरी काम अघी बढाइएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

गत वर्ष सुक्खायाममा नदीमा जलप्रवाहको स्तर घट्न गई प्राधिकरणको जलविद्युत् गृहबाट कुल दुई अर्ब ९३ करोड युनिट विद्युत् उत्पादन भएको थियो । यो आव २०७८÷७९ को तुलनामा १० दशमलव १० प्रतिशतले कम हो । आफ्नै तथा सहायक कम्पनी एवं संयुक्त उपक्रमको कम्पनीमार्फत जलविद्युत् आयोजना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर