मिडियाको धाक, धक्कु देखाउने रामेश्वर थापालाई प्राधिकरणको स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावरलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। भवन निर्माण गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिएको नदेखिएकाले तीन दिनभित्र जवाफ पेस गर्ने गरी प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

प्राधिकरणका निर्देशक बाबुराम पौडेलले बुधबार पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका छन्। उक्त पत्रको बोधार्थ काठमाडौं महानगरपालिकालाई दिइएको छ। नेटवर्कको भवन वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत रहेका क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा छ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सम्पूर्ण उडान तथा अवतरणहरूलाई सुरक्षित बनाउन आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान छ। तर अन्नपूर्ण नेटवर्कले भवन बनाउनुअघि प्राधिकरणबाट स्वीकृत लिएको नदेखिएकाले प्राधिकरण ऐन २०५३ को दफा ७ को (घ) बमोजिम कारबाही किन नगर्ने भनेर तीन दिनभित्र प्राधिकरणमा जवाफ पेस गर्न निर्देशन दिएको हो।

प्राधिकरणले यसअघि विमानस्थलनजिक रहेका ठूला व्यावसायिक भवनले उडान सुरक्षामा पारेको असर अध्ययन गर्न समिति गठन गरेको थियो। हवाई सुरक्षा विभागका उपनिर्देशक श्रीहरि भट्टको संयोजकत्वमा समिति गठन भएको थियो। यससँगै प्राधिकरणले क्याप्टेन थापालाई बुधबार नै २४ घन्टे स्पष्टीकरण पनि सोधेको छ।

अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशन/प्रसारण गरेको प्राधिकरणको आरोप छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर