कमजोर हुँदै मनसुन, देशका धेरै भू-भागमा घामछायाँ

काठमाडौं । देशका धेरै भू-भागमा मंगलबार घाम लागेको छ । गएको शुक्रबार रातिदेखि सोमबारसम्मदेशभरै वर्षा भएको थियो । आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार पानी पार्ने प्रणाली कमजोर भएको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रबारदेखि आइतबारसम्म लगातार वर्षा भएको थियो । यो प्रणाली कमजोर बन्दा हिजो पनि मौसम बदली भए पनि धेरै ठाउँमा खासै पानी परेको थिएन ।

कम हुँदै मनसुनी वर्षा

विगत २० वर्षको मनसुन सिजनको वर्षाको विश्लेषण गर्दै विभागको जलवायु विश्लेषण शाखाले मनसुन सिजनको वर्षा घट्दै गएको औँल्याएको छ। नेपालमा सन् १९९१ देखि सन् २०२० सम्म २० वटा वर्षा मापन केन्द्रको नियमित अनुगमन गर्दा मनसुनी वर्षाको दर बिस्तारै कम हुँदै गएको देखिएको छ। मनसुनको मुख्य अवधि जेठ १५ देखि असोज १५ गतेसम्मको अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर मनसुनी वर्षा रेकर्ड हुने गरेको शाखाले उल्लेख गरेको छ। तर पछिल्लो समय मनसुनी वर्षाको दर कम हुँदै गएको देखिएको हो।
जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ। जुन २० वर्षको सुरदर वर्षाको करिब ४४.५ प्रतिशत मात्र हो। यसले अहिलेसम्म जति हुनुपर्ने हो, त्यो मात्राको वर्षा भएको छैन।
मध्यक्षेत्रमा वर्षाको दर ठीकै रहे पनि तराई भेगमा अति कम वर्षा भएको शाखाले औँल्याएको छ। वर्षाको प्रवृत्ति फेरिँदै जानु र मनसुनको समयमा पनि फेरबदल आएका कारण यस्तो हुने गरेको जलवायुविज्ञ डा. इन्दिरा कँडेल बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर