काठमाडौं महानगरमा खुल्ला दूध प्लाष्टिकमा बेच्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्न नदिने तयारी गरेको छ । महानगरले खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएकाले यसलाई तत्काल रोक लगाउने भएको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने बताइन् । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी छन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ ।’ तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण भएको महानगरको भनाई छ । यसैगरी महानगरले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने भएकाले जार जफत र नष्ट गर्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर